म त, किनारमा उभिएको मान्छे ।।
किन झरिरहेछ,इ आशाका आँसुहरु झरी बनेर ? किन मडारिरहेछ यो आकाशमा, दबिएका स्वतन्त्र ध्वनीहरु ? म त, किनारमा उभिएको मान्छे, बालुवामा भविष्य लेख्दै गर्दा, छालहरु सँगै भाग्य मेटिएको मान्छे । सारङगी रेटिरहेको साइलाले देशको गीत गाइरहेको छ कि, आफ्नो भोको पेटमा गुनगुनाइरहेको छ, सहर छिरेको ठुलदाइले, श्रम बेचिरहेको छ कि, भविष्यका अनुहारहरु । म त, किनारमा उभिएको मान्छे, हेरिरहेछु, प्रजातन्त्रले स्वतन्त्रता लुट्दै गएका कथाहरु , वरपिपलका पातहरुले आफ्नो आनुहार फेर्दै गर्दा, बलात्कृत भएका ती कलिला पालुवाहरु । हेरि रहेछु, बगि रहेका राता रगतका भेलहरु , रङ्गाउदै ती छितिजका अनगिन्ती आशाहरु। म त, किनारमा उभिएको मान्छे बुझदै छु , आशाको गरुङ्गो भारी बोकेर सिकार गर्न गएको हर्के , आज किन आफै सिकार भएको छ । आशा उस्तै छ, कल्पना उहीँ छ स्वतन्त्रताको भाषण बिकिरहेछ । म त, किनारमा उभिएको मान्छे , देखिरहेछु, खाली झोला बोकेर सहर झिरेको रामे, आज बाकस लिएर आएको छ । अनि आँसुको भेल, स्वतन्त्रताको खेल बर्षौसम्म, युद्ध मैदानमा , महानताको ब्यापार चल्ने चालाउने,...